नगरपालिकाको चिनारी
भौगोलिक, ऐतिहासिक र साँस्कृतिक पहिचान
२.१ भौगोलिक अवस्थिति
नेपालमा रहेका ७ वटा भित्रि मधेश अन्तर्गतका जिल्लाहरु मध्येको एक उदयपुर जिल्लामा रहेको चौदण्डीगढी नगरपालिकाको कुल क्षेत्रफल २८३.७८ वर्ग कि.मि. रहेको छ । भौगोलिक हिसाबले यो नगरपालिका २६ डिग्री ४१ मिनेट २६ सेकेण्ड उत्तरी अक्षांशदेखि २६ डिग्री ५४ मिनेट २७ सेकेण्ड उत्तरी अक्षांश सम्म र ८६ डिग्री ४६ मिनेट ०७ सेकेण्ड पूर्वी देशान्तर देखि ८६ डिग्री ५९ मिनेट ३२ सेकेण्ड पूर्वी देशान्तरसम्म फैलिएको छ ।
पालिकाको पूर्वमा बेलका नगरपालिका, पश्चिममा त्रियुगा नगरपालिका, उत्तरमा खोटाङ र भोजपुर जिल्ला तथा दक्षिणमा सप्तरी जिल्ला रहेका छन् । यहाँको अधिकांश भू–भाग भित्रि मधेश अन्तर्गत पर्ने हुँदा बालुवा र पाँगो मिश्रित अत्यन्त उर्वर माटोको प्रधानता रहेको छ ।
यहाँ उष्ण तथा समशितोष्ण प्रकारको हावापानी पाउनुको साथै पुष र माघ महिनामा चिसो हुन्छ भने बैशाख, जेष्ठ तथा असार महिनामा गर्मी हुने गर्दछ ।
२.२ ऐतिहासिक पृष्ठभूमि तथा नामाकरण
तत्कालिन सेनवंशी राजाहरुले भाइहरुलाई राज्य टुक्राटुक्रा पारी अंशवण्डा गर्ने क्रममा निर्माण भएको चौदण्डी राज्य र चौदण्डीमा रहेको ऐतिहासिक गढीको नामबाट हालको चौदण्डीगढी नगरपालिकाको नामाकरण गरिएको हो ।
२.३ राजनीतिक र प्रशासनिक संरचना
साविकका बेल्टार र बसाहा गाविसहरु मिलेर बनेको बेल्टार बसाहा नगरपालिका, चौदण्डी, सिद्धीपुर, हडिया र सुन्दरपुर गा.वि.स.हरुलाई समेटेर यस नगरपालिकाको स्थापना भएको हो । हाल यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन् । जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।
नक्सा नं. 1: प्रशासनिक विभाजन नक्शा
नक्सा नं. 2: नगरपालिकाको वडा विभाजन नक्शा
तालिका नं. 1: राजनीतिक र प्रशासनिक संरचना
| वडा नं. | समावेश गाविस/तथा नगरपालिका | वडा नं. | क्षेत्रफल (वर्ग कि.मि.) |
|---|---|---|---|
| 1 | चौदण्डी (१–९) | 3,882 | 47.94 |
| 2 | बेल्टार बसाह (५,६) | 4,059 | 13.74 |
| 3 | बेल्टार बसाह (९,१०) | 3,871 | 17.02 |
| 4 | बेल्टार बसाह (७,८,११) | 6,235 | 19.76 |
| 5 | सुन्दरपुर (१–९) | 5,673 | 43.64 |
| 6 | बेल्टार बसाह (२,३) | 4,516 | 9.01 |
| 7 | बेल्टार बसाह (१,४) | 5,237 | 9.37 |
| 8 | सिद्दिपुर (१–९) | 3,770 | 44.09 |
| 9 | हडिया (२–६) | 6,753 | 49.43 |
| 10 | हडिया (१,७–९) | 4,578 | 29.76 |
| जम्मा | 48,574 | 283.78 | |
स्रोतM भू–सूचना प्रणालीमा आधारित स्थलगत तथ्याङ्क
२.४ धरातलीय अवस्था
भौतिक अवस्थाको विवरण तयार पार्दा यहाँको धरातलीय अवस्थाका बारेमा उल्लेख गर्नु अनिवार्य हुन्छ । क्षेत्रफलका हिसाबले नेपाल सानो भए तापनि धरातलीय विविधताका हिसाबले विश्वमै सम्पन्न मानिन्छ । विशेषतः भौगर्भिक प्रक्रियाका दौरान पछिल्लो समयमा निर्माण भएको महालङ्गुर हिमश्रृङ्खला निर्माण हुँदा तिब्बतीयन भू–खण्ड र भारतीय उपमहाद्वीपको एक आपसमा टकराव हुँदा यी दुई भू–खण्डका बिचमा रहेको टेथिस सागरको अस्तित्व समाप्त भई उच्च हिमालय पर्वत, मध्यम महाभारत पर्वत श्रृङ्खला तथा होचा चुरे पर्वत श्रृङ्खला र सबैभन्दा दक्षिण भेगमा फैलिएको विशाल गंगाको मैदानको अंशको रुपमा रहेको तराई भू–भाग मिलेर समग्र देशको भू–सतह निर्माण भएको छ । यो भू–धरातलको वस्तुगत चरित्रहरू मध्ये एक वा अर्को प्रकारको भू–धरातलको प्रधानता नेपालका गाउँपालिका वा नगरपालिकामा रहेको पाईन्छ । भू–धरातलीय स्वरुपले विकास निर्माणमा अहम् भूमिका खेल्दछ । भू–धरातलको विवरण अन्तर्गत विशेषतः भिरालोपन, मोहडा, उचाई, भू–आवरण, माटोको बनावट जस्ता आधारभूत पक्षहरू पर्दछन् ।
क) माटोको बनावट
नगरपालिकाको भौगर्भिक संरचना भारतीय उपमहाद्धिप (Indian Plate) र तिब्बतीयन प्लेट (Tibetan Plate) को एकआपसको टकरावबाट उत्पत्ति भएको महाभारत पर्वत श्रृङ्खला निर्माण हुँदाको बखत भएको हो । यो विशाल गंगा नदीको एक अंशको रुपमा रहेको छ । यद्यपि धरातलीय Profile हेर्दा माटो र चट्टानहरूमा विविधता रहेको पाइन्छ । यसको कारण भू–धरातलमा निरन्तर भइरहने प्राकृतिक प्रक्रियाहरू (Natural Phenomena) जस्तै मौसम तथा ऋतु परिवर्तन, भू–क्षय, वायुमण्डलीय चापको प्रभाव, वर्षा, शीत, भूकम्प, जलवायु परिवर्तन, सामान्य हावाहुरी आदि हुन् । भित्रि मधेश तथा केही भू भाग पहाडी क्षेत्र अन्तर्गतको भू–भागमा रहेको हुनाले नगरपालिकामा पहाडी क्षेत्रमा चिम्ट्याइलो तथा समथर क्षेत्रमा बलौटे माटो पाइन्छ । यसरी प्राङ्गारिक पदार्थको मात्रा भने निरन्तर खेती भइरहेको क्षेत्रमा केही बढी छ भने बाँझो क्षेत्रमा क्रमशः घटिरहेको अवस्था छ ।
ख) भिरालोपनाको विवरण
चौदण्डीगढी नगरपालिकाको भूमिलाई भू–बनोट, प्रणाली तथा भू–स्खलन जस्ता प्रवृत्तिका आधारमा अध्ययन गर्दा भूमिको वर्गीकरणलाई त्यसको उपयोगको सम्भाव्यता र सघनता घट्दै जाने (Degrading) क्रममा राखिएको छ । अर्को शब्दमा, भू–स्खलन वा भू–क्षयीकरणको प्रवृत्ति भू–बनोट अनुसार फरक पर्दै जान्छ । त्यसै क्रमले भूमिको स्थायित्वलाई मजबुत बनाउने उपायको भौतिक लक्षण (Physical characteristics) का आधारमा माटोको अवस्था र भिरालोपन विश्लेषण गरिएको छ । पालिकामा भू–बनोट, पारिस्थितिक प्रणाली तथा भू–स्खलन जस्ता तत्वका आधारमा भूमिको वर्गीकरणलाई हेर्दा नगरपालिकाको जमिनमा न्यूनतम ० डिग्रीदेखि अधिकतम ६३ डिग्रीसम्मको भिरालोपन देखिन्छ । जसलाई नक्शामा उल्लेख गरिएको छ ।
नक्सा नं. 3: नगरपालिकाको भिरालोपन वितरण नक्शा
अ) Slope ०°– ५° (माटोको गहिराई पर्याप्त भएको, पानीको निकास राम्रो हुने गरी कान्ला बनाई खेती गर्न सकिने)
यस्तो जमिनमा माटोको गहिराई पर्याप्त हुन्छ र पानी सतहमा तथा अर्ध भूमिगत अवस्थामा समेत सजिलै निकास हुन्छ । मनसुनी खेती गर्नका लागि यस्तो भूमिमा गह्राहरू बनाउनु पर्दछ । सतहगत जलप्रवाह एवं अर्धभूमिगत पानीको निकासलाई भू–क्षय हुन नपाओस् भनी नियन्त्रणका उपायहरू अपनाउनु पर्दछ । माटोका भौतिक गुणहरू तथा जमिनको भिरालोपनका कारण वर्षाको पानीबाट नयाँ खोल्सीहरू बन्ने र ती खोल्सीहरू प्रकारान्तरमा चौडा हुँदै गएर भू–क्षयको प्रवृत्ति बढ्ने हुनाले यस वर्गको जमिनको संरक्षण गर्न विशेष ध्यान दिनु पर्दछ । यस वर्गको जमिनमा परम्परागत माध्यम वा आधुनिक विधिबाट खेती गर्न सकिन्छ । मनसुनको समयमा हुने वर्षाका कारण चरन तथा वनस्पतिलाई पनि मनग्य फाईदा पुग्दछ । यस्तो जमिनमा धान खेती गर्न सकिन्छ । सिँचाई सुविधा उपलब्ध भएको छ । माटो दानादार भएको अवस्थामा समेत धानबाली लगाउन सकिन्छ । सिँचाई भएमा हिउँदे एवं वर्षे बाली पनि लगाउन सकिन्छ ।
आ) Slope ५º - ३०º -माटोको गहिराई ५०–१०० से.मि. भएको, पानीको निकास राम्रो हुने गरी कान्ला बनाएर मात्र खेती गर्न सकिने)
५०–३०० भिरालो रहेको, पानीको निकास राम्रो हुने गरेको तथा माटोको पत्रको गहिराई ५० से.मि. देखि १०० से.मि. सम्म रहेको जग्गा यस वर्गमा पर्दछ । यस वर्गको जमिनमा पहिरो जाने, जमिन भासिने जस्ता भू–क्षयीकरणका प्रवृत्तिहरू सामान्य रुपमा देखा परिरहन्छन् । त्यसैले जमिनलाई सामान्य रुपमा व्यवस्थापन नगरिएमा यस्ता प्रवृत्तिमा झन् वृद्धि हुने हुन्छ । वन, वनस्पतिका लागि यो जमिन त्यति सहज हुँदैन् । गाईवस्तुको आवत-जावतबाट भू–क्षयीकरणमा वृद्धि हुने हुनाले चरन विकासलाई यस प्रकारको जमिनमा प्रश्रय दिन ठीक हुँदैन् । तर, पालैपालो निश्चित स्थानहरूमा गाईवस्तु थुनेर चराउने हो भने त्यसले जमिनको उत्पादकत्वमा सघाउ पनि पुर्याउन सक्दछ । यस प्रकारको जमिन विशेष गरी मनसुन खेतीका लागि भू–क्षय रोक्न गह्राहरू बनाउन अनिवार्य हुन्छ । यसमा खेतीको परम्परागत र मध्यमस्तरीय प्रविधि नै अपनाउनुपर्ने हुन्छ । यस प्रकारको भिरालोपन भएको जमिनमा खेती गर्दा माटोको भौतिक गुणहरूसँग व्यवस्थापन सीपको सम्मिश्रणले मुख्य भूमिका खेलेको हुन्छ । सिँचाईको प्रयोग नियमित रुपमा पहिलेदेखि नै भइरहेको खण्डमा सिँचाई गर्दा भू–क्षयको समस्या आउँदैन्, तर, नयाँ सिँचाई प्रणाली शुरु गर्ने हो भने शुरुमा सावधानी अपनाउनु पर्दछ । एक्कासी बढी सिँचाई भएको खण्डमा भू–क्षयीकरणको प्रवृत्ति तुरुन्त शुरु हुन सक्दछ ।
इ) Slope ३०º - ४०º माटोको गहिराई २० से.मि. मात्र भएको, पानीको निकास सहज भएको तथा जमिनको भिरालोपन ३०० (१.७ मिटरमा १ मि.) भन्दा बढी भएको, काठ दाउरा उत्पादन गर्न उपयुक्त ।
माटोको पत्र २० से.मि. मात्र गहिराई भएको पानीको निकास सहज भएको तथा जमिनको भिरालोपन ३०० (१.७ मिटरमा १ मि.) भन्दा बढी भएको जमिन यस वर्गमा पर्दछ । यस प्रकारको ज्यादा भिरालोपन भएको जग्गामा गह्रा बनाएर खेती गर्नु फाईदाजनक देखिँदैन् । यस प्रकारको जमिनमा वर्षाको पानीबाट छिटो खोल्सीहरू बन्ने वा बाढीले क्षति पुर्याउने ठूलो सम्भावना रहन्छ । यस प्रकारको जमिनमा वनस्पतीहरू लगाउन, उपयुक्त देखिन्छ । यहाँ काठ र इन्धनका लागि वन पैदावारको उत्पादन वृद्धि गर्नु उपयुक्त हुन्छ । पहिरो जाने वा बाढीबाट क्षति हुने प्रवृत्ति यस प्रकारको जमिनका सामान्य लक्षण हुन् । यस्तो क्षेत्रमा जंगलको विकास गरी इन्धन, पशु आहार तथा काठ उत्पादन गर्न सकिन्छ । जंगल फडानी भएको छ भने पनि यस्तो क्षेत्रमा या त बोटबिरूवालाई पुनः हुर्काउन सकिन्छ या त बृक्षारोपण गर्न सकिन्छ । यस वर्गमा पर्ने जमिनहरूमा गाईवस्तुलाई चराउने चलन कडाईका साथ नियन्त्रण गर्नुपर्छ । यदि इन्धन, पशु, आहार तथा चरनको लागि उपयोग गर्ने हो भने पनि वार्षिक उपयोगले भविष्यको उत्पादकत्वलाई जोखिममा पार्ने खालको हुनु हुदैन् । यस प्रकारको क्षेत्रमा यस्तो वन पैदावार उपयोग गर्ने तरिका, स्थान र पहुँचको लागि सडक विस्तार र सुरक्षित योजना बनाउनु पर्दछ । यस्तो जमिन खेतीको लागि उपयुक्त हुँदैन् ।
ई) Slope >४०º माटोको गहिराई २० से.मि. भन्दा कम भएको, भू–क्षय भइरहने पुनरुत्पादनको सम्भावना कम भएको ।
ज्यादै भिरालो भएको, मध्यम भिरालोपन भए पनि माटो पत्र (तह) २० से.मि. भन्दा कम भएको वा जस्तो सुकै भिरालोपन भए पनि वर्षे पानीबाट क्षति भएको, धेरै खोल्सीहरू सिर्जना भएको जमिन यस वर्गमा पर्दछ । यस प्रकारको जमिनलाई घाँस वा बोट–बिरुवा लगाएर हराभरा बनाइराख्नुपर्छ, किनभने माथि उल्लेख गरिए झैँ एकातिर यस्तो जमिनमा भू–क्षयीकरणको प्रवृत्ति तीब्र रहेको हुन्छ भने अर्कातिर एक पटक भू–स्खलन भइसकेको क्षेत्रलाई पुनःअधिग्रहण (reclaim) गर्न असम्भव हुन्छ । उच्च भू–भागमा माटोको तापक्रम कम रहने तथा भिरालोपन भएकोले माटो सजिलैसँग बग्दछ । तलको तालिकामा चौदण्डीगढी नगरपालिकाको भिरालोपनको विवरण उल्लेख गरिएको छ ।
तालिका नं. 2: नगरपालिकाको भिरालोपनको विवरण
| भिरालोपन (डिग्रीमा) | क्षेत्रफल (वर्ग कि.मि.) | क्षेत्रफल (प्रतिशत) |
|---|---|---|
| ० डिग्री देखि ५ डिग्री | 119.53 | 42.12 |
| ५ डिग्री देखि १५ डिग्री | 82.40 | 29.04 |
| १५ डिग्री देखि ३० डिग्री | 65.82 | 23.19 |
| ३० डिग्री देखि ४५ डिग्री | 15.37 | 5.42 |
| ४५ डिग्री देखि ६३ डिग्री | 0.65 | 0.23 |
| जम्मा | 283.78 | 100 |
स्रोत: भू–सूचना प्रणाालीमा आधारित स्थलगत तथ्याङ्क
यहाँको करिब ४२.१२ प्रतिशत भू–भाग ० डिग्री देखि ५ डिग्रीसम्मको, २९.०४ प्रतिशत भू–भाग ५ डिग्रीदेखि १५ डिग्रीसम्मको, २३.१९ प्रतिशत १५ डिग्रीदेखि ३० डिग्रीसम्मको, ५.४२ प्रतिशत भू–भाग ३० डिग्रीदेखि ४५ डिग्रीसम्मको, ०.२३ प्रतिशत भू–भाग ४५ डिग्रीदेखि ६३ डिग्रीसम्मको भिरालोपनको स्थितिमा छ । यसको अर्थ यहाँको जमिनमा खेतीपाती गर्न धेरै सहज रहेको छ । खेतीपाती मार्फत् अन्नभण्डार बन्ने क्षमता नगरपालिकाले राख्दछ । यहाँको भूमिको सही सदुपयोग गर्न सके प्राकृतिक सम्पदाको धनी चौदण्डीगढी नगरपालिकाले विकासमा कायापलट हुन सक्ने क्षमता राख्दछ ।
ग) जमिनको मोहडाको विवरण (Aspect)
जमिनको भिरालोपन र मोहडा सामान्यतया एक अर्काका परिपूरक हुन्छन् । अर्थात् भिरालोपन विषम हुँदा मोहडामा पनि विषमता हुन्छ । समथर क्षेत्रमा मोहडामा विषमता नभए तापनि नगरपालिकामा निम्नानुसारको मोहडाको विवरण रहेको छ ।
तालिका नं. 3: जमिनको मोहडाको विवरण
| जमिनको मोहडा | क्षेत्रफल (वर्ग कि.मि.) | क्षेत्रफल प्रतिशतमा |
|---|---|---|
| उत्तर मोहडा | 38.63 | 13.61 |
| उत्तर पूर्वी मोहडा | 32.81 | 11.56 |
| पूर्व मोहडा | 31.84 | 11.22 |
| दक्षिण पूर्वी मोहडा | 37.97 | 13.38 |
| दक्षिण मोहडा | 39.43 | 13.90 |
| दक्षिण पश्चिम मोहडा | 35.97 | 12.67 |
| पश्चिम मोहडा | 32.25 | 11.36 |
| उत्तर पश्चिम मोहडा | 34.89 | 12.29 |
| जम्मा | 283.79 | 100 |
स्रोत: GIS तथ्याङ्कमा आधारित
नक्सा नं. 4: नगरपालिकाको मोहडा नक्शा
२.५ प्राकृतिक सम्पदा
हरेक क्षेत्रको विकासको प्रमुख आधार नै त्यहाँ उपलब्ध प्राकृतिक श्रोतहरू हुन् । प्राकृतिक सम्पदा अन्तर्गत स्थानीयस्तरमा उपलब्ध जमिन, वन, वनस्पती, वन्यजन्तु, जडिबुटी, खानी तथा खनिज, नदी, खोला, ताल, हिमाल, झरना, जलाधार क्षेत्र, सिमसार, निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्र आदि पर्दछन् । यिनै प्राकृतिक सम्पदाहरूको दिगो र विवेकपूर्ण सदुपयोग गर्न सकेको खण्डमा मात्र हामी समृद्ध बन्न सक्छौं ।
२.६ साँस्कृतिक उत्कृष्टता
मानवीय चालचलन, भाषा, व्यवहार तथा जनजीवन निश्चित परम्पराबाट अमूर्त हिसाबले निर्देशित हुन्छ । दैनिक व्यवहारहरू सञ्चालन गर्न मानिस परिवार र समाजको स्वरूपमा बाँधिएको हुन्छ । विवाह, परम्पराले नाता सम्बन्ध स्थापित गर्दछ र यसले परिवारको श्रृजना हुन्छ । जन्म, मृत्यु, विवाह, खानपान, भेषभूषा, चाडपर्व, भाषा, रहनसहन आदि सबै साँस्कृतिक विशेषताहरू भित्र पर्दछन् । यी सभ्यता र संस्कृतिका आयामहरू मानिसको पहिचानका प्रमुख पक्षहरू हुन् । साँस्कृतिक गतिविधिहरूले मानिसलाई परिस्कृत जीवन जिउन मद्दत पुर्याउँछ । यसले समाजलाई संगठित र गतिशील तुल्याउँछ ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नगरपालिकामा ३७,०१२ अर्थात ६९ प्रतिशत हिन्दु धर्मावलम्बीको बसोबास रहेको छ । यसैगरी १०,४५० अर्थात १९.५ प्रतिशत व्यक्तिहरुले किरात धर्म, ४,१४३ अर्थात ७.७ प्रतिशतले बौद्ध धर्म मान्ने गर्दछन् भने १,४७७ अर्थात २.८ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेका छन् ।
यहाँ बसोबास गर्ने धर्मावलम्बीहरुले बडादशैं, तिहार, रामनवमी, महाशिवरात्री, हरितालिका, श्री पञ्चमी, श्री कृष्ण जन्माष्टमी, होली, चैते दशैँ, साउने–माघे संक्रान्ति, मातातीर्थ औँसी, अक्षय तृतीया, हरिशयनी–हरिबोधनी एकादशी, नागपञ्चमी, रक्षाबन्धन (जनैपूर्णिमा), कुशे औंसी, बालाचतुर्दशी, कोजाग्रत पूर्णिमा, श्री स्वस्थानी पूर्णिमा, नयाँ वर्ष सोह्रश्राद्ध, उभौली (बैशाख पूर्णिमा) र उधौली (मंसिरे पूर्णिमा) साकेला पर्व, बुद्धजयन्ती तथा भूमे (भूम्या) पर्व, क्रिश्मस, ल्होसार लगायतका पर्व मनाउने गर्दछन् ।
यस नगरपालिकामा विभिन्न जाती, धर्म सम्प्रदाय र भेषभूषाका मानिसहरू बसोबास गर्दछन् । सबै जातजाती र सम्प्रदायका आ–आफ्नै धर्म, संस्कृति र चालचलनहरू छन् । विशेष गरी क्षेत्री र राई समुदायको बाहुल्यता रहेको यस नगरपालिकामा चाडपर्वको समयमा आफ्नो संस्कृति झल्कने छिटको गुन्यु, चौबन्दी चोली, रातो घलेकी र पहेँलो पटुका, तथा पुरुषहरुले भोटो र स्टकोट कम्मरमुनी कछाड सिरमा टोपी साथै गलबन्दी लगाउने गर्दछन् । तर, आधुनिक समयमा सबै जातजातिका युवा, युवतीहरूले क्रमशः पाइन्ट, सर्ट, टिसर्ट,साडी ब्लाउज, कुर्ता–सलवार नै लगाउन रुचाउँछन् ।
२.७ विकासका मुख्य सम्भावनाहरू
हरेक स्थानको आफ्नै विशेषता हुन्छ । कुनै स्थानमा जंगलको भू–भाग अत्याधिक हुन्छ । कुनै स्थानमा पर्याप्त मात्रामा जलश्रोतको उपलब्धता हुन्छ भने कुनै स्थान सुख्खा क्षेत्रको रूपमा रहेका हुन्छन् । तसर्थ कृषियोग्य क्षेत्रमा कृषिको व्यवसायीकरण गरेर माथि उठ्न सकिन्छ भने दिगो वन व्यवस्थापन मार्फत् वनक्षेत्र अत्याधिक भएको स्थानीय तहलाई समृद्ध बनाउन सकिन्छ । उपलब्ध श्रोत र साधनका आधारमा नगरपालिकाको सम्भावनाहरू उजागर गर्न सकिन्छ । यहाँ खेतीयोग्य जमिन २९.७० प्रतिशत रहेको छ । वैज्ञानिक कृषि प्रणालीमार्फत यहाँको समृद्धि हासिल गर्न सकिन्छ ।
दिगो वन व्यवस्थापन भन्नाले वनजंगललाई बालीनाली सरह हेरचाह र सुधार सम्भार गर्ने भन्ने बुझिन्छ । नगरपालिका क्षेत्रमा रहेका सम्भाव्यता र अवसर अन्तर्गत परम्परागत तथा आधुनिक कृषि, जडिबुटी, पर्यटन, पशुपालन तथा साना तथा मझौला उद्योगहरूको विकासका सम्भाव्यताका क्षेत्रहरू रहेका छन् । साथै नगरपालिकाको विभिन्न स्थानमा पार्क, उद्यान तथा धार्मिक सम्पदाहरूको निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्याप्त अवसर रहेको छ ।
नगरपालिकामा रहेको खेतीयोग्य जमिनमा खाद्यान्नका साथै अन्य नगदे बाली तरकारी बाली, फलफुल, मसला तथा जडीबुटी र पशुजन्य उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको छ । आधुनिक कृषि प्रविधि, मल तथा औजारको अभाव हुनाको साथै सो को अधिकतम लागत मूल्यले गर्दा सो को प्रयोगमा कमी हुन गई कृषि उत्पादनमा आवश्यकता अनुसार वृद्धि हुन सकेको छैन् । जनचेतना, सीप तथा व्यवसायीकरण, आधुनीकिकरणको अभिवृद्धि, प्रविधि हस्तान्तरणको साथै आवश्यक प्रविधि, मल, कर्जा, बीउ विजनको उपलब्धतामा सरलीकरण गरेर कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि ल्याई आर्थिक स्थितिमा सुधार ल्याउन सकिने प्रशस्त सम्भावनाहरू रहेको छ ।
यहाँ रहेको उर्वर भूमिमा आधुनिक कृषि प्रणालीको अभावले गर्दा खेतीयोग्य भूमिको पूर्ण सदुपयोग हुन सकेको छैन भने अर्कोतर्फ माटोको उर्वरशक्ति क्रमश : क्षीण हुँदै उत्पादन र उत्पादकत्वमा ह्रास आएको देखिन्छ । जथाभावी हुने गरेको बस्ती विकासलाई व्यवस्थित गर्नाको साथै पुराना परम्परागत कूलोहरूको मर्मत सुधार गरी माटोको उर्वरशक्ति बढाई दिगो विकासको धारणा अनुरुप काम गर्न सकेमा भावी पुस्ताको लागि यस नगरपालिकालाई बस्न लायक ठाउँको रुपमा विकसित गर्न सकिन्छ ।
नगरपालिकाको ग्रामिण क्षेत्रमा दुग्ध उत्पादन तथा पशुपंक्षी उत्पादनको प्रशस्त सम्भावना रहेको हुँदा यो व्यवसायलाई विस्तार गर्नुको साथै यातायात सेवालाई सर्वसुलभ तरिकाले उनीहरूको पहुँचसम्म विस्तार गर्न सकेको खण्डमा विभिन्न स्थानहरूमा दुग्ध चिस्यान केन्द्र, कृषि उत्पादनको संकलन केन्द्र/कोल्ड स्टोर, मासुजन्य उद्योग आदि विकास गर्न सकिनेछ । जसबाट रोजगार सिर्जना गरी समग्र नगरपालिकाको आयमा वृद्धि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।
यस नगरपालिकामा भएका प्राकृतिक श्रोत र साधनलाई व्यवस्थित तथा वातावरणमैत्री प्रविधि अपनाएर उचित प्रयोग गर्न सकेमा सो क्षेत्रले कतिपय ग्रामिण ईलाकाहरूका स्थानीयस्तरमा आवश्यक रोजगारी सिर्जना गर्नुको साथै स्थानीय श्रोत परिचालनमा समेत दिगोपना ल्याउन सकिने देखिन्छ । नगरपालिका क्षेत्रमा केही खोलाहरू तथा व्यावसायिक माछापालनका लागि पोखरीहरु भएको र थप केही सम्भाव्य ठाउँहरूमा पोखरी तथा कृत्रिम ताल निर्माण गरी यस क्षेत्रको हावापानीमा हुने जातका माछापालन व्यवसाय गरेमा सजिलैसँग रोजगारीका अवसरहरू बढ्ने र नगरपालिकाकै माछाले बजार लिने सम्भावना रहेको छ ।
नगरपालिकाको सामुदायिक वन उपभोक्ता समूहरूलाई संगठित र संस्थागत गरी वन क्षेत्रमा गैर काष्ठजन्य उत्पादनहरू जडिबुटी खेतीको अलावा मह उत्पादनलाई पनि प्रवर्द्धन गरी बजारीकरण गर्न सकेमा सो क्षेत्रको आर्थिक उन्नति गर्न थप टेवा पुग्ने देखिन्छ ।
देशमा बेरोजगारी बढ्दै गइरहेको र सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारीको प्रशस्त अवसरहरू नभएकाले वैदेशिक रोजगारीमा आकर्षण बढेको देखिन्छ । यस नगरपालिकाका युवाहरूलाई सिपमूलक तालिम प्रदान गरी स्थानीय स्तरमै रोजगारी श्रृजना गर्ने व्यवस्था भएमा पालिकाको आर्थिक विकासमा ठूलो योगदान पुर्याउन सकिने सम्भावना देखिन्छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको यस नगरपालिकामा आवश्यक स्थानहरुमा होमस्टे सञ्चालन गरी सिन्धुली तथा उदयपुर जिल्लाका विभिन्न स्थानहरुको भ्रमण गर्न आउने पर्यटकहरुलाई आर्कषण गर्न सकिन्छ । यसका अतिरिक्त चौदण्डीगढी नगरपालिकाको विकासका लागि विभिन्न सम्भावनामूलक उपायहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
नगरपालिका क्षेत्रभित्र रहेका भूमिगत पानीको श्रोत तथा खोलाहरूबाट आधुनिक कुलो तथा नहर मार्फत् पानी सिँचाई गरी व्यवसायिक रूपमा खेती गर्न सके कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुन सक्छ ।
स्थानीय कच्ची सडकको स्तर वृद्धि गरी कालोपत्रे गर्न सके स्थानीय बासिन्दाले भरपुर सुविधा लिनुका साथै जीवनस्तरको स्तरोन्नति र समग्र नगरपालिकाको सुन्दरतामा वृद्धि हुन सक्छ ।
यस क्षेत्रमा विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक स्थानहरू रहेकाले पर्यटन विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।
सरकारी, गैरसरकारी तथा निजी संघसंस्थाहरू यस क्षेत्रमा क्रियाशिल रहेकाले नगरपालिकाको विकासमा साझेदार हुन सक्ने देखिन्छ ।
नगरपालिका क्षेत्रमा उपभोक्ताहरूको वृद्धि भइरहेको सन्दर्भमा उद्योग, व्यापार र वाणिज्यको विकास हुन सक्ने सम्भावना देखिन्छ ।
२.८ गार्हस्थ उत्पादन
गार्हस्थ उत्पादन (जिडिपी) भनेको एक प्रकारको मापदण्ड हो जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्दछ । यसले कुनै एक निश्चित अवधिमा मुलुकभित्र वा ठाउँभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ । सबै निजी तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात तथा निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्दछन् । नेपालमा यसको वार्षिक रुपमा नै गणना गर्ने गरिएको देखिन्छ । ट्रेडिङ्ग इकोनोमिक्सका अनुसार सन् २०२४ मा नेपालको जिडिपी करिब ६२ खर्ब सात अर्बको हाराहारीमा रहेको छ भने प्रतिव्यक्ति आय १५१७ (एक हजार पाँच सय सत्र) अमेरिकी डलर रहेको छ ।
२.९ मानव विकास सुचकाङ्क
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को २०२५ को प्रतिवेदन अनुसार नेपालको मानव विकास सुचकाङ्क ०.६२२ रहेको र यसका आधारमा विश्वका १९३ देशहरु मध्ये नेपाल १४५ श्रेणीमा रहेको छ । नेपालको यो सूचकाङ्क मध्यम मानव विकास सूचकाङ्क भएका देशहरुको औसत ०.६३६ भन्दा पनि कम रहेको छ । सन् १९९० मा नेपालको यो सूचकाङ्क ०.३७८ थियो ।